एजेन्सी, ७ असार–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली सुरु गरेका छन्। ट्रम्पको चुनावी र्यालीमा भौतिक दुरी कायम राख्न र मास्क लगाउन पनि पर्नेछैन। तर अमेरिकाका सार्वजनिक स्वास्थ्यका विज्ञहरुले यी दुवै सुरक्षाका उपाय नअपनाई गरिने चुनावी र्यालीका कारण महामारी नयाँ बिन्दुमा पुग्ने चिन्ता व्यक्त गरेका छन्। यतिखेर अमेरिका कोरोना महामारीको सबैभन्दा खराब असरसँग जुधिरहेको छ। त्यहाँ हालसम्म २२ लाख ५१ हजार २०५ जना संक्रमित भेटिएका छन्।
संक्रमितमध्ये एक लाख १९ हजार ६५४ जनाले ज्यान गुमाइसकेका छन्। तर, महामारी जोखिमलाई कम आँक्दै ट्रम्पले चुनावी र्याली थालेका हुन्। उनको चुनावी र्यालीमा हजारौं मानिसहरु सहभागी हुँदैछन्।जोखिमपूर्ण अवस्थामा चुनावी र्याली गर्दा मानिसबाट मानिसमा सर्ने भनिएको कोरोना महामारी थप फैलनसक्ने चिन्ता गरिएको छ।
आज मात्रै ट्रम्पले टुल्सामा चुनावी र्याली गर्दैछन्। तर, त्यहाँ संक्रमणका नयाँ मामिला बढिरहेको छ। चुनावी र्यालीका ६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ।
