काठमाडौं, २९ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पक्राउ गर्न पक्राउ पूर्जी लिएर आउन प्रहरीलाइ आग्रह गरेकी छिन् ।

सादा पोशाकका प्रहरी पक्राउ गर्न शंखमुलस्थित निवासमा पुगेका प्रहरीलाई नेतृ झाँक्रीले आफूलाई नियन्त्रणमा लिने विषय राजनीतिक भएका कारण पक्राउ पूर्जी लिएर आउन आग्रह गरेकी हुन् ।
निवासमा पत्रकारहरुसँग उनले भनिन्,‘महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर बोलाउनु भएको थियो । तर, यो राजनीतिक मुद्दा भएकाले पहिले पक्राउ पूर्जी लिएर आउनुस् भनेकी छु । ’

यसअघि प्रहरीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर उनलाई सोधपुछका लागि बोलाएको थियो । तर, उनी उपस्थित नभएपछि प्रहरीले पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

संसद विघटनको विरोधमा आफूहरु सडकमा आन्दोलन गरिरहेकाले यसको प्रतिवाद गर्ने झाँकीले बताएकी छिन् । ‘सरकारको प्रतिगमनविरुद्ध हामी सडकमा लडिरहेका छौं, यसको पनि हामीले प्रतिवाद गर्छौं,’ उनले भनिन् । राज्यले नागरिकलाई नियन्त्रणमा लिनसक्ने बताउँदै उनले भनिन्, ‘तर, यो राजनीतिक मुद्दा भएकाले कारणसहित पूर्जीसहित आए मैले गिरफ्तारी दिनुपर्छ ।’

राजनीतिक अभिव्यक्तिलाई लिएर कसैलाई पक्राउ गर्न खोज्नु लोकतन्त्रको उपहास भएको उनले बताइन् । प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक कार्यक्रमहरुमा हिडिरहेको भन्दै उलले भनिन्, ‘अलि धेरै हिँडेको ह्यारेसमेन्ट गर्न खोजेको होला ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *