काठमाडौं, ३० माघ–प्रतिगमनविरुद्ध काठमाडौंलगायत देशका ठूला शहरहरुमा जनसभा गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लातिर केन्द्रित हुन थालेको छ ।

प्रतिनिधिसभा विघटन र सरकारले संवैधानिक निकायमा गरेको असंवैधानिक नियुक्तिको विरोधमा संघीय राजधानीलगायत देशका ठूला शहरमा चरणवद्ध आन्दोलन गरेको नेकपाले अब विरोधका कार्यक्रमहरु जिल्लातिर पनि केन्द्रित गर्न थालेको हो । नेकपाले भोलिदेखि पूर्वका तीन जिल्लामा विरोधसभा गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटनपछिको पछिल्लो राजनीतिक घटनाक्रम र यसले पार्ने दूरगामी असरका बारेमा नेता–कार्यकर्ता र सर्वसाधरण नागरिकलाई जानकारी गराउने उद्देश्यले पूर्वका तीन जिल्लामा विरोधसभाका कार्यक्रम तय गरिएको नेकपाले जानकारी दिएको छ ।
शनिबार धनकुटामा, आइतबार तेह्रथुममा र सोमबार सुनसरीमा विरोध कार्यक्रम राखिएको नेकपाले जनाएको छ । तीनै जिल्लाका कार्यक्रमलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दैछन् ।

कार्यक्रममा अध्यक्ष नेपालसहित स्थायी कमिटी सदस्य वर्षमान पुन, स्थायी कमिटी सदस्य तथा प्रदेश–१ का इञ्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य विष्णु रिजाललगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।

नेकपाले पूर्वका जिल्लामा आफ्नो प्रभाव बढाउने गरी प्रधानमन्त्रीको कदमविरुद्ध जिल्लास्तरीय प्रदर्शनका कार्यक्रम तय गरेको हो । प्रधानमनत्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

प्रधानमन्त्रीको कदमविरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (प्रचण्ड–नेपाल) पक्षले माघ ९ र २८ गते काठमाडौंमा, माघ १५ गते बुटवल, माघ १६ गते विराटनगर र १७ गते धनगढीमा बृहत विरोध सभा गरिसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *