काठमाडौं, ३० माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आधिकारिकता विवादको प्रक्रिया किन अघि नबढाएको भन्दै निर्वाचन आयोगलाई प्रश्न गरेको छ । प्रचण्ड–नेपाल समूहले बिहीबार आयोगलाई पत्र पठाउँदै विवाद निरूपण प्रक्रियाको ढिलाइबारे जानकारी मागेको हो ।

आयोगसँग मूलतः तीनवटा प्रश्न गरिएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । “हामीले आयोगसँग मुख्यतः तीनवटा प्रश्नको जवाफ मागेका छौँ । हामीले माघ २० गते दफा ४४ अनुसारको आधिकारिकता दाबी गर्‍यौँ । त्यसको प्रक्रिया किन अघि बढेन भनेर सोध्यौँ,’’ उनले भने ।

त्यस्तै, निर्वाचनका लागि सरकारसँग स्थान छुट्ट्याउने अधिकार नभएको र उक्त निर्णय गर्दा आयोग मौन भएको भन्दै प्रश्न गरेको पोखरेलले बताए । मन्त्रिपरिषद्को यही माघ २६ गते बसेको बैठकले पहिलो चरणमा प्रदेश नम्बर-२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो । आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको हो । यस्तै, वैशाख २७ गते दोस्रो चरणमा प्रदेश नम्बर-१, वाग्मती र सुदूरपश्चिम प्रदेश गरी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

“निर्वाचन दुई चरणमा गर्ने बारे त मन्त्रिपरिषद्ले निर्णय गर्न पाउँछ । सरकारले पहिलो चरण र दोस्रो चरण छुट्ट्यायो । तर, पछिल्लो निर्णयमा त निर्वाचन गर्ने समूहसमेत सरकारले छुट्ट्याएको छ, पहिले निर्वाचन आयोगले छुट्ट्याएको थियो । सरकारले यस्तो निर्णय गर्दा टुलुटुल हेरेर बस्ने रु प्रतिवाद नगर्ने ? भनेर हामीले प्रश्न गर्‍यौँ,’’ उनले भने ।

निर्वाचन आयोगले संशोधन गरेको नियमावलीको प्रति पनि माग गरेको पोखरेलले बताए ।

आयोगले भने आधिकारिकता विवाद निरूपणबारे काम भइरहेको बताएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *