काठमाडौँ, २ फागुन–निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ।
आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताए ।
‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छरु नेकपाको ६४ प्रतिशत मत छ। यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न,’ छलफलमा बोलेर बाहिरिएका पोखरेलले भने।
पोखरेलले निर्वाचन आयोग सरकारको लाचार छाया बन्न नहुने बताएका थिए। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले निर्वाचनको प्रक्रिया अगाडि बढाउन नहुने उनको भनाइ थियो। सरकारले वैशाखमा निर्वाचन गर्ने घोषणा गरेको छ।
