कास्की, ३ फागुन–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बैसाखका लागि घोषणा भएको चुनाव प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता लम्ब्याउने चाला मात्र भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आज (सोमबार) कास्कीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताउँदै भने, ‘आफ्नो तानशाही शासन लम्ब्याउनका लागि मध्यावधि निर्वाचन घोषणा गरेका हुन् ।’

‘ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरेका हुन् । शासन सत्ता लम्ब्याउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ सिंहले भने ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास समेत व्यक्त गरे । ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ । अब न्यायमूर्तिहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे । त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्‍यो । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ । हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरी निर्णय गर्नेछ ।’

पुर्नवहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्ति केन्द्रहरुको चलखेल बढ्ने उनले बताएका छन् । उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड व्यालेन्स भएको भन्दै कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने उनको भनाइ थियो ।

‘संविधान मिच्ने ओलीले निर्वाचन गराउँछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ । नेकपाले जनताको मतको अवमूल्यन गरेको छ,’ उनले भने, ‘मै कानुन हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन पूर्वराजा ज्ञानेन्द्रकै हालत हुनेछ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *