काठमाडौं, ४ फागुन–जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको तीन वर्षे उपलब्धीप्रति टिप्पणी गर्दै वर्तमान सरकारले देश र जनलाईलाई धोका दिएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओली शर्माको नेतृत्वमा सरकार गठन भएको ३ वर्ष पूरा भएको सन्दर्भमा पूर्व प्रधानमन्त्री समेत रहेका डा। भट्टराईले यो अवधि ठूला गफ र शून्य प्रगतिमा बितेको बताएका छन् ।
सरकारले हिजो (सोमबार) आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले चमत्कारपूर्ण सफलता हासिल गरेको भन्दै तीन वर्षको अवधिमा ७४ वटा उपलब्धी भएको दावी गरेका थिए ।
‘कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामका आधारमा हुन्छ,’ डा भट्टराईले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्, ‘दुई तिहाइको ओली सरकारका ३ वर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेल मैदान नै भत्काएर हिँडेको दुःखान्त प्रहसन जस्तो मात्रै रह्यो !’
