बैतडी, ५ फाल्गुन–बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै बैतडीमा लगातार प्रदर्शन भए ।
प्रदर्शनमा ‘भागरथीलाई न्याय दे’ भन्दै नारा लगाउने उनका छिमेकी नै बलात्कार र हत्यामा संलग्न भएको पुष्टि भएको छ । ‘भागरथीको न्यायका निम्ति हुने हरेक प्रदर्शनमा उनी सहभागी थिए’, एक प्रहरी अधिकारीले भने, ‘उनीमाथि हाम्रो निगरानी थियो । उनी प्रहरी देख्ना साथ डराएका जस्ता देखिन्थे ।’
मंगलबार उनकै घरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । पक्राउ पर्ने दिनेश भट्ट भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा अध्ययरत रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्तिलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । भागरथीको गएको २१ गते हत्या भएको थियो । हत्या भएको भोलिपल्ट शव भेटिएको थियो ।
उनको बलात्कार पछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको थियो । भागरथीका परिवारले दोषीलाई कारबाही नभएसम्म शब नबुझ्ने अडान राखे पछि शव जिल्ला अस्पताल बैतडीमै राखिएको छ ।
पक्राउ परेका किशोर भन्छन्, ‘उनका बुबाले पनि मेरा आफन्तलाई बलात्कार गरेका थिए’
बैतडीकी भागरथी भट्टको बलात्कार–हत्या आरोपमा पक्राउ परेका किशोरले अपराध स्वीकार गरेका छन् ।
प्रहरीले पक्राउ गरेका छिमेकी तथा आफन्तसमेत रहेका १७ वर्षीय दिनेश भट्टले बदला लिन आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका हुन् । भागरथीका बुबाले आफ्नो नजिकको नातेदार बलात्कार गरेको र त्यसको बदला लिन आफूले त्यस्तो गरेको भनेर दिनेशले बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।
एक वर्षअघि त्यो घटना गाउँमै मिलाइएको दिनेशको दाबी छ । भागरथीका बुबाको भने मृत्यु भइसकेको छ ।
