काठमाडौं, ६ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा पार्ने काम नेतृत्वबाट हुन नहुने बताएका छन् ।

आज नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए ।

उनले भने, ‘त्यही कर्तव्यलाई बुझेर कांग्रेसका नेता कार्यकर्ताले देशभर र्‍याली गर्नु भएको छ, सभा गर्नु भएको छ । लोकतन्त्रको रक्षाका लागि विरोधमा उत्रिनु भएको छ ।’

सँगै कार्यक्रममा रहेका सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै नेता पौडेलले भने, ‘अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने रु जे मन लाग्यो त्यही बोलेर हिंड्ने ?’ उनीभन्दा अगाडि बोलेका देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने बताएका थिए ।

वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन् । ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले किन नभन्ने ?’

संविधान र लोकतन्त्र बच्यो भने मात्र चुनावको अर्थ हुने भन्दै उनले उनले भने, ‘किन चुनाव चुनाव भन्ने रु चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो ।’ पछिल्लो राजनीतिक घटनालाई लिएर कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच फरक धारणा रहँदै आएको छ । देउवा अदालतले जे फैसला गर्छ त्यहि स्वीकार्नु पर्ने पक्षमा छन् भने पौडेल प्रधानमन्त्री ओलीको कदमलाई सच्याउन सशक्त सडक आन्दोलन गर्नुपर्ने पक्षमा छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *