काठमाडौँ, ८ असार–साविकको समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय लिएको हो। नेपालले भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेपछि त्यसको विरोधमा उत्रिएकी उनले संसदबाट नक्सा पारित गर्ने क्रममा बैठक नै बहिष्कार गरेकी थिइन्।

पार्टी नीतिविरुद्ध बोल्नुका साथै आफूखुसी कदम चालेको ठहरसहित नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावविरुद्ध उभिएकी गिरीलाई पार्टीको ह्वीप उल्लंघन गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरिको पार्टीका एकजना नेता गंगानारायण श्रेष्ठले जानकारी दिएका छन्।

भारतले हडपेको भूमि फिर्ताका लागि नेपालले पहल गरिरहँदा निरन्तर त्यसविरुद्ध उत्रिएकी गिरी संसद बहिष्कार गरेपछि काठमाडौं छाडेर सिरहा हुँदै भारत जान खोजेकी थिइन्। तर उनलाई सुरक्षाकर्मीले नेपाल नै फिर्ता पठाइदिएका थिए। गिरीले जेठ ७ गते जारी नयाँ नक्सालाई संवैधानिक मान्यता दिन संसदमा पेश गरिएको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ का विरुद्ध सूचना दर्ता गराएकी थिइन्। तर पार्टीले निर्देशन दिँदा पनि उनले संशोधन प्रस्तावविरुद्ध हालेको सूचना फिर्ता लिन अस्वीकार गरेकी थिइन्।

संविधान संशोधनको पक्षमा उभिन लगाएको ह्वीप पनि नमानेर संसद बहिष्कार गरेकी गिरीसँग सोधिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएमा उनलाई पार्टीबाटै निष्काशन र संसदबाट पनि हटाउने तयारी समाजवादीले गरेको हो। ‘पार्टीको निर्णय मानेर अघि बढ्न गरेको आग्रहलाई उहाँले लत्याउनु भयो।

पार्टीको ह्वीप र निर्देशन पनि उहाँले मान्‍नु भएनु, नेता श्रेष्ठले भने, ‘त्यहीकारण साविक समाजवादी पार्टीको आज बसेको केन्द्रीय पदाधिकारी बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा उल्लेख भएको प्रक्रिया अनुसार सांसद गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *