एजेन्सी (नयाँदिल्ली), ९ असार–भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन्।

मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गरे। यो औषधीले कोभिड-१९ का बिरामी निको हुने कम्पनीको दाबी छ।

क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले बताएको छ।

‘पूरा देश र दुनियाँ कोरोनाको भ्याक्सिन वा औषधीको पर्खाइमा थियो। हामीलाई यो कुराको घोषणा गर्दा गर्व भइरहेको छ कि अनुसन्धान, क्लिनिकल ट्रायल र तथ्यहरूमा आधारित पहिलो आयुर्वेदिक औषधी तयार गर्‍यौं,’ रामदेवले भने, ‘पतन्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जयपुरको साझा प्रयासबाट औषधी तयार गरिएको हो। यी औषधी तीनदेखि सात दिनसम्म खाए बिरामी पूर्ण निको हुन्छ। हामीले ६९ प्रतिशत बिरामी तीन दिनमा र सात दिनमा सत प्रतिशत बिरामी निको भएको पाएका छौं।’

रामदेवले कोभिड-१९ निको हुन्छ भनेर दाबी गरिएको औषधीको ट्रायलमा २८० बिरामी सहभागी थिए। उनीहरू सबै यो औषधी खाएर निको भएको बताइएको छ।

रामदेवले औषधी दिनुभन्दा पहिला बिरामीको पूर्वस्वीकृति लिएको बताए। भारत सरकारले रामदेवको औषधीलाई औपचारिक रूपमा मान्यता दिने निर्णय गरिसकेको छैन।

सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानदेखि फैलिएको कोभिड-१९ को महामारीबाट अहिलेसम्म ९२ लाख मानिसहरू संक्रमित भएका छन् भने चार लाख ७४ हजारको मृत्यु भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *