एजेन्सी (काठमाण्डौं), १० असार–स्पेनिस ला लिगामा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्साका इभान राकिटिकले ७१ औं मिनेटमा गाल गरे।
सब्स्टिच्युटको रुपमा खेलको ६४औ मिनेटमा मैदान छिरेका राकिटिकले लियोनेल मेसीको असिस्टमा खेलको ७१औ मिनेटमा गोल गरेका हुन्। जीतपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। ३१ खेलमा ६८ अंक बनाएको बार्सा शीर्ष स्थानमा उक्लिएको हो।
एक खेल कम खेलेको रियलको ३० खेलमा ६५ अंक रहेको छ। रियल म्यड्रिडले आज राति मल्लोर्काविरुद्ध खेल्दै छ। गएराति नै सम्पन्न अर्को खेलमा एटलेटिको म्याड्रिडले लेभान्टेलाई १–० गोल अन्तरले पराजित गरेको छ। यो जितपछि एटलेटिकोको ३१ खेलमा ५५ अंक भएको छ भने लिगको तेस्रो स्थानमा रहेको छ।
