एजेन्सी, ११ असार–स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा मालोर्कालाई २–० गोल अन्तरले हराउँदै तालिकाको शीर्ष स्थानमा फर्किएको हो। रियलको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक एक गोल गरे।
घरेलु मैदानमा १९ औं मिनेटमा भिनिसियसको गोलमार्फत रियल मड्रिडले खेलमा अग्रता बनाएको थियो। रामोसले ५६ औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए। शीर्ष स्थानको रियलले ६८ अंक जोड्न सफल रह्यो।
बार्सिलोनासंग अंक बराबरी भएपनि हेड टू हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लिन सफल भएको हो। पछिल्लो नतिजाले मालोर्का रेलिगेशनमा झर्ने सम्भावना प्रबल बनेको छ। मालोर्का २६ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा छ। लिगमा ७ चरणको खेल बाँकी रहदाँ रियलले लिगमा अग्रता बनाउन सफल भएको छ। रियल सन् २०१७ पछि पहिलो पटक लिग उपाधि जित्ने अभियानमा छ।
गएराति नै भएका अन्य खेलमा ओसासुनाले एलाभिसलाई १–० ले हराउँदा सेल्टा भिजोले रियल रोडिडाडलाई १–० ले नै हरायो ।
