काठमाडौं, ११ असार–अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वको आर्थिक वृद्धि ४ दशमलव ९ प्रतिशतले ऋणात्मक हुने प्रक्ष्येपण गरेको छ । वर्ल्ड इकोनोमिक आउटलुकको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै मुद्रा कोषले विश्वको आर्थिक वृद्धि अप्रिलमा गरेको प्रक्ष्येपणभन्दा १.९ प्रतिशत बढीले ऋणात्मक हुने अनुमान गरेको हो ।

अप्रिलमा सार्वजनिक वर्ल्ड इकोनोमिक आउटलुकले विश्वको अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान गरेको थियो । जबकि जनवरीसम्म मुद्रा कोषले ३ दशमलव ३ प्रतिशतले विस्तार हुने दाबी गरेको थियो ।

कोभिड-१९ को जोखिम कम गर्न विश्वव्यापी आह्वान लकडाउनलाई ‘ग्रेट लकडाउन’ भनिएको छ । जसले कोरोना भाइरसको संक्रमण रोके पनि तथा मानव जीवन बचाए पनि सन् १९३० को ‘द ग्रेट डिप्रेसन’ महामन्दीपछिको सबैभन्दा ठूलो र खराब आर्थिक मन्दी निम्त्याउने कोषको दाबी छ ।

कोभिडले विश्वको अर्थतन्त्रलाई शिथिल बनाउँदा बनाउँदै ७५ प्रतिशत देशले लकडाउनलाई खुकुलो बनाएका वा खुला गरेका छन् । यस्तो अवस्थामा मुद्रा कोषले निराशाजनक आँकलन गरेको हो । तर, यो महाव्याधी विश्वका उदीयमान र विकासशील अर्थतन्त्रमा गम्भीर रुपमा विस्तार भएको कोषको अनुमान छ ।

कोषले चिकित्सा समाधान अझै अनिश्चित भएका कारण आर्थिक पुनरुत्थान पनि अनिश्चित भएको बताएको छ । यसको प्रभाव क्षेत्रगत तथा देशगत रुपमा असमान हुने पनि कोषको बुझाइ छ ।
यद्यपि सन् २०२१ मा भने विश्व अर्थतन्त्र ५ दशमलव ४ प्रतिशतले विस्तार हुने कोषको आशा छ ।

सन् २०१९ को अन्त्यदेखि २०२१ सम्म विश्व अर्थतन्त्रले १२ दशमलव ५ ट्रिलियन अमेरिकी डलर बराबरको सञ्चित ९क्युमुलेटिभ० घाटा बेहोर्ने कोषको दाबी छ । २०१९ को अन्त्यमा विश्व अर्थतन्त्रको आकार १ सय ट्रिलियन डलर भएकोमा २०२० मा आकार ९६ ट्रिलियन हुने अपेक्षा गरिएको छ । जबकि वर्ल्ड इकोनोमिक आउटलुकले आकार १०४ ट्रिलियन हुने आशा गरेको थियो । कोभिड प्रभाव कम हुँदै गएमा विश्व अर्थतन्त्रको आकार २०२१ मा १ सय ट्रिलियनमै फर्कने आशा गरिएको छ ।

तर, यसका लागि खोप तथा उपचार विधि पत्ता लाग्नुपर्ने कोषको भनाइ छ । नत्र भूराजनीति तथा व्यापार तनावले नाजुक विश्वव्यापी सम्बन्धलाई क्षति पुर्याउने छ । यसले अन्तर्राष्ट्रिय व्यापार १२ प्रतिशतले कम गर्न सक्ने डर पैदा गरेको हो ।

कोषले भनेको छ, “यो जस्तो खराब मन्दी अरु छैन र यसको पुनरुत्थान पनि अरुको जस्तो हुने छैन ।” यसले निर्यातमुखी अर्थतन्त्रको पुनरुत्थानमा चुनौती ल्याउनेछ भने विकसित र विकासशील अर्थतन्त्र बीचको सम्बन्ध बिगार्नेछ । कोषले २०२० मा समृद्ध अर्थतन्त्र ८ प्रतिशतले खुम्चने दाबी गरेको छ । यसमा चीनलाई हटाउँदा विश्वले ५ प्रतिशत ऋणात्मक आर्थिक वृद्धि आत्मसात गर्नेछ ।

कोषले सन् २०२० मा विश्वका ९५ प्रतिशत देशले ऋणात्मक प्रतिव्यक्ति आय वृद्धिदर आत्मसात् गर्ने चेतावनी दिएको छ । यद्यपि चीनबाहेक उदीयमान र विकासशील अर्थतन्त्रको पुनरुत्थान दर समृद्ध अर्थतन्त्रको भन्दा राम्रो हुने मुद्रा कोषको प्रक्षेपण छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *