एजेन्सी, १३ असार–२०औं शताब्दीका वामपन्थी क्रान्तिकारी नेता अर्नेस्टो चे ग्वेभाराको जन्मस्थान बेच्न लागिएको छ। अर्जेन्टीनाको रोजारियो शहरस्थित २५८० स्क्वायर फुट क्षेत्रफलमा फैलिएको ग्वेभाराको घर सन्‌ २००२ मा फ्रान्सिस्को फर्रुग्गियाले खरिद गरेका थिए।

ग्वेभाराको घरलाई सांस्कृतिक केन्द्रको रुपमा बदल्न चाहेपनि फर्रुग्गियाले यो योजना कार्यान्वयन गर्न सकेका थिएनन्। ग्वेभाराको घर कति मूल्यमा बेचिँदैछ भन्नेबारे उनले कुनै जानकारी दिएका छैनन्। क्रान्तिकारी नेता ग्वेभाराको जन्मघर हेर्न हरेक वर्ष लाखौं मानिसहरु रोजारियो आउने गर्छन्।

को हुन् चे ?

ग्वेभाराको जन्म सन् १९२८ मा अर्जेन्टीनाको रोजारियोमा भएको थियो। सम्पन्न परिवारमा जन्मिएका ग्वेभाराले दक्षिण अमेरिकामा क्रान्तिको बाटो समाएका थिए। क्युबाली क्रान्तिमा अहम भूमिका ग्वेभाराले त्यहाँको बाटिस्टा तानाशाहीतन्त्र अन्त्य गरिदिएका थिए।

क्युबामा राजनीतिक क्रान्ति सम्पन्न भएपछि ग्वेभाराले पूरै दक्षिण अमेरिका र विकासशील देशसम्म क्रान्ति विस्तार गर्ने योजना बनाएका थिए। क्रान्तिका लागि बोलिभियामा रहेका बेला सन् १९६७ अक्टोबर ९ तारिखमा ग्वेभाराको हत्या भएको थियो।

अमेरिकी खुफिया संस्था र बोलिभियाको सेनाले उनको पार्थिव शरीरलाई अज्ञात स्थानमा गाडिदिएको थियो। ग्वेभाराको हत्या भएको ३० वर्षपछि बल्ल उनको अन्तिम अवशेष क्युबा ल्याइएको थियो।

                                                                                     अर्नेस्टो चे ग्वेभारा

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *