काठमाडौं, १४ असार–शनिबार मध्य-तराईका जिल्लाहरूबाट प्रवेश गरेको सलहको झुण्ड गोरखाको बारपाकसम्म पुगेको छ। सुलिकोट बारपाक गाउँपालिका-७ का वडाध्यक्ष कृष्ण गुरूङले गाउँपालिकामा सलह कीराको एक हुल देखिन आएको जानकारी दिएका छन्।

​​बारा, पर्सा, सर्लाही हुँदै तराईका विभिन्न जिल्लामा प्रवेश गरेको सलहको झुण्ड शनिबार दिनभरमै पूर्वको सर्लाहीदेखि पश्चिममा बुटवलसम्म फैलिएको थियो। त्यसको भोलीपल्टै अर्थात आज यो कीराको बथान हिमाली जिल्ला गोरखासम्म पुगेको हो।

सलह कीरा गाउँमा फैलिएपछि स्थानीयहरू चिन्तित बनेका छन्। खेतबारीमा राखिएको धानको ब्याड र फल्नेरपाक्ने क्रममा रहेका तरकारी र मकैलगायत अन्नबाली जोगाउन मुस्किल पर्ने देखिएको उनीहरूले बताएका छन्।

सलह नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद नार्कले पाँच प्रकारका विषादी सिफारिस गरेको छ। मालाथियन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस र डेल्टामेथ्रीनको प्रयोग गरी सलह नियन्त्रण गर्न सकिने नार्क अन्तर्गत किट विज्ञान महाशाखाका प्रमुख डा.प्रेमनिधी शर्माले जानकारी दिएका छन्। यो कीरा आउनसक्ने सम्भावित क्षेत्रका किसानले कीरा आउनु अगाडि नै विषादी प्रयोग गरेको खण्डमा बाली जोगाउन सकिने जानकारी प्राप्त भएको छ।

प्रतिलिटर पानीमा छुट्टाछुट्टै ३ मिलिलिटर मालाथियन, ल्याम्डा साइहेलोथ्रीन ०.७० मिलिलिटर, क्लोरपाइरिफोस १.८८ मिलिलिटर र डेल्टामेथ्रीन ०.७५ मिलिलिटर मिसाएर बालीमा छर्के सलहबाट हुने क्षति कम गर्न सकिने कृषिविज्ञहरूले जानकारी दिएका छन्।

विषादी प्रयोग नगरेको खण्डमा खेतबारीमा गएर विभिन्न आवाज निकालेर त्यसलाई धपाउने र सानो क्षेत्रमा बोट विरुवा वा बाली लगाएको छ भने झुल वा जालीको प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *