काठमाडौं, १५ असार–धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः सुरु हुने भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार सुरु गर्न लागिएको हो।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ। लगानीकर्ताको सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डको भनाइ छ।

बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्नेछ। यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि न अपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ।

यस्तै अर्को व्यवस्था नहुँदासम्म ब्रोकर लगानीकर्ताका लागि भिडभाड हुने श्रव्यदृश्य कक्षसमेत सञ्चालन गर्न पाउने छैनन्। लगानीकर्ताले हालसम्म गरिएका व्यवस्था बमोजिम नै घरबाटै कारोबार गर्नसक्ने व्यवस्था गरिएको हुँदा ब्रोकरसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ। लकडाउनकै बीचमा केही समय पहिले बजार सञ्चालनमा ल्याएको भए पनि पुनः बन्द गरिएको थियो।

बजारलाई नियमितरुपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ आज दोस्रो बजार सञ्चालनमा ल्याउने निर्णय गरिएको बोर्डले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *