धरमपुर, १५ असार–असार १५ अर्थात १७औं राष्ट्रिय धान दिवसको अवसर पारेर झापाको धरमपुरस्थित हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कृषि यान्त्रिक उपकरणहरु वितरण गरेको छ । शिबसताक्षी–१ धमरपुर चौकमा सञ्चालित हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाले सोमबार धरमपुरमाम एक कार्यक्रमबीच शेयर सदस्यहरुलाई यान्त्रिक उपकरणहरु वितरण गरेको हो ।
संस्थाका अध्यक्ष ताराप्रसाद गौतमका अनुसार कृषि ज्ञान केन्द्र भद्रुपुर झापाको सहयोग अनुदानमा प्राप्त यी यान्त्रिक उपकरण धरमपुरका कृषकहरुलाई प्रदान गरिएको हो । उनले ४० थान मोटर बोरिङ, ५ थान पावर टेलर (जमिन जोत्ने र धान काट्ने), ४ थान धान काट्ने), २ थान धान थ्रेसर र ५५ थान स्प्रे ट्याङ्की कृषकहरुलाई वितरण गरिएको बताए ।
अध्यक्ष गौतमको अध्यक्षता र कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीरकमल सिंहको प्रमुख आतिथ्यतामा यान्त्रिक उपकरणहरु वितरण गरिएको थियो । कार्यक्रममा शिबसताक्षी नगरपालिका वडा नं १ का वडाध्यक्ष सुवास राईको विशेष आतिथ्यता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि कृषि ज्ञान केन्द्र झापाका प्रमुख सिंह र विशेष अतिथि वडाअध्यक्ष राईसहित संंस्थाका अध्यक्ष गौतमले संयुत्त रुपमा यान्त्रिक उपकरणहरु वितरण गरेका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सिंह, वडाध्यक्ष राईले असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा कृषकहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । संस्थाक सचिव तेजेन्द्र घिमिरेले संञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ताराप्रसाद गौतमले कार्यक्रमको औचित्यसहित यान्त्रिक उपकरणहरुको प्रयोग, आवश्यत्ता र उत्पादनलाई बृद्धिगर्न कृषकहरुलाई आग्रह गरेका थिए ।
हाम्रो हात्तेमालो कृषि सहकारी संस्था धरमपुरमा २०६८ सालमा स्थापना भएको हो । संस्थामा साढे पाँच सय बढी शेयर सदस्यहरु आवद्ध छन् ।
सहकारी संस्था मार्फत धरमपुरमा पाँच बिद्या जमिन भाडामा लिएर बहुआयमिक कृषि उपजहरु उत्पादन गरिरहेको छ । अध्यक्ष गौतमका अनुसार दुध सङ्कलन (डेरी), माछा पालन, धान खेती, कागती खेती छ भने १२ कठ्ठा जमिनमा टोनलसहितको तरकारीहरु उत्पादन भइरहेको छ । सो टोनेलमा यसअघि, क्यापसिकोन, टमाटर र हरियो सागसब्जिहरु लगाइएको अध्यक्ष गौतमले जानकारी दिए ।