दाङ, १५ असार–महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने गोरखा हस्पिटलका स्वास्थ्यकर्मी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुलेको छ। पक्राउ परेका उनी एक्सरे गर्ने अनुमति नै नपाएको तथ्य उजागर भएको हो।
नेपाल रेडियो ग्राफिक्स सोसाइटी जिल्ला कार्यसमिति दाङका सदस्य आयूस पौडेलले पक्राउ परेका डाँगी रेडियोग्राफर नभएको स्पष्ट पारे।
‘पक्राउ परेका व्यक्ति रेडियो ग्राफर हैन, हेल्पर रैछ,’ पौडेलले भने ‘कसरी हस्पिटलले रेडियो ग्राफिक्स नपढेका अनाधिकृत व्यक्तिलाई एक्सरे गर्ने अनुमति दियो।’
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत पौडेलले आफू पनि बबई गाउँपालिका वडा नं। २ कै बासिन्दा भएको र पक्राउ परेका डाँगीलाई नजिकबाट चिन्ने गरेको जानकारी दिए।
उनले अनाधिकृत व्यक्तिले यस्ता काम गर्दा राम्रो काम गर्ने सबै रेडियो ग्राफरको समेत बदनाम भएको तर्क गरे। जिल्लामा केही अन्य हस्पिटलहरुले पनि यसरी अधिकार नै नपाएका व्यक्तिलाई काममा लगाउँदै आएको हुँदा त्यो पनि बन्द हुनुपर्ने उनले माग गरे।
गोरखा हस्पिटल प्रालिका रेडियो ग्राफर नरेश धिताल पनि पौडेलको भनाइमा सहमत छन्। ‘उ रेडियो ग्राफर हैन, मेरो व्यक्तिगत असिष्टेन्ट मात्रै हो,’ धितालले भने ‘मैले मेसिन अन गरेर आइज मात्रै भनेको हुँ, तर उस्ले एक्सरे नै गरेछ।’
उनले मेसिन तात्न आधा घन्टा लाग्ने भएको हुँदा डाँगीलाई मेसिन अन गरेर आउन मात्रै भनेको दाबी गरे।
‘मेसिन अन गरेर उसले ती महिलालाई कपडा खोलेर बस्न भनी एक्सरेको क्यासेट लिन गएछ,’ धितालले थपे ‘महिला सबै कपडा खोलेर बस्नु भएको रहेछ र उसले गएर एक्सरे गरेर आएछ।’
-सेतोपाटीबाट