एजेन्सी (काठमाडौं), १६ असार–लद्दाखको गलवान उपत्यकामा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडपपछि दुवै देश आ–आफ्नो तयारीमा रहेका समाचार आइरहेका बेला आज (मंगलबार) सीमा तनाव समाधानका लागि वार्ता हुने भएको छ ।
झडपपछि दुवै देशले थप सैन्य तयारी गरेका समाचार आइरहेका बेला भारत–चीन सीमामा जारी तनाव समाधानबारे आज दुई देशबीच कमाण्डरस्तरमा तेस्रो बैठक हुन लागेको हो । यसअघि जुन ६ मा पहिलो र जुन २२ मा दोस्रो बैठक भएका थिए ।
आज हुने तेस्रो बैठक लद्दाखको चुसुलमा बिहान साढे १० बजे शुरु हुने समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । बैठक भारतीय भूमितर्फ हुने जनाइएको छ । यसअघिका दुई बैठक चीनतर्फको भागमा भएको समाचारमा उल्लेख छ ।
आजको बैठकमा दुई पक्षबीच सीमामा भइरहेको तनाव कम गर्ने विषयमा छलफल हुनेछ । यसका लागि आज महत्वपूर्ण सहमति हुने बीबीसी हिन्दीले जनाएको छ ।
यही जुन १५ राति दुई देशको सीमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत–चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो। त्यस क्रममा २० भारतीय सैनिक मारिएको थियो ।
तर चीनतर्फ के कति क्षति भयो भएन अहिलेसम्म औपचारिक पुष्टि हुन सकेको छैन । आज हुने भनिएको भारत–चीनबीचको तेस्रो वैठकलाई विश्वले निकै चासोका साथ हेरिएको पनि समाचार एजेन्सीले उल्लेख गरेको छ ।