काठमाडौं, १८ असार–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेष्ट ह्याम युनाइटेडसँग ३–२ गोलले पराजित भएको छ। लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो। विलियमले ४२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा वेष्टह्यामका सोसेकले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकियो। खेलको ५१ औं मिनेटमा माइकेल एन्टोनियोले गोल गरेपछि वेष्टह्याम २–१ ले अग्रता बनाउन सफल भयो। ७२ औं मिनेटमा चेल्सीका विलियमले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बराबरीमा पुग्यो। तर ८९ औं मिनेटमा एन्ड्रि यारमोलेन्कोले गोल गरेपछि वेष्टह्यामले चेल्सीविरुद्ध अप्रत्यासित जित दर्ता गर्न सफल भएको हो।

पराजित भएसँगै चेल्सीले अंक तालिकाको तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। चेल्सी ५४ अंकसहित तालिकाको चौथो स्थानमा छ भने तेस्रो स्थानको लेस्टर सिटीको ५५ अंक छ। गएराति नै भएको खेलमा लेस्टर सिटी एभर्टनसँग २–१ गोलले पराजित भएको थियो।

आर्सनलले नर्विच सिटीलाई ४–० ले हराउँदा अर्को खेलमा न्यूक्यासलले वर्नमाउथलाई ४–१ ले पराजित गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *