काठमाडौं, १९ असार–कोरोना भाइरस (कोभिड—१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्धको राजधानीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी रहेको बताए। छाती दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उनले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार शुक्रबार ७ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो। मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेभि देखिएको छ । यस्तै, गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ। सरकारले क्यानसर, डाइविटिजका विरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ।

यस्तै, अस्पतालको आकस्मिक कक्षमा आउने विरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने प्रवक्ता गौतमले बताए। सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले बताए। शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन्।

आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन्। आजसम्म ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन्। यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन्। आजसम्म ६ हजार १ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *