काठमाडौं, १९ असार–प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार साढे तीन घण्टा लामो छलफल भयो । पार्टी एकताका बेलाका साक्षीद्वय विष्णु पौडेल र जनार्दन शर्मालाई सँगै राखेर पनि छलफल भयो ।
सुरुमा चार जना र पछि अध्यक्षद्वयबीच छुट्टै वार्ता चले पनि बैठकले कुनै समाधान निकाल्न नसकेको प्रचण्डले ब्रिफिङ गरेका छन् ।
बालुवाटार बैठक सकेर खुमलटार पुगेलगत्तै अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरूलाई निराशाजनक खबर सुनाएको एक सचिवालय नेताले बताए ।
‘बालुवाटार बैठकमा केही भएन । मिल्ने कुरै भएनछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘प्रधानमन्त्रीको उद्देश्य पार्टी विभाजन नै गर्ने देखिन्छ ।’
प्रचण्डसँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष त्याग्न तयार नरहेको भन्दै अघिल्लै दिनको अडान दोहोर्याएको ती नेताको दाबी छ ।
उनले मङ्सिर ४ को सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याउँदै मिलन विन्दु त्यही भएको बताएका थिए ।
“उहाँले म प्रधानमन्त्री र पार्टी अध्यक्ष त्याग्ने पक्षमा छैन । मिल्न सकिँदैन भने विकल्प छन् भनेर घुमाउरो शैलीले पार्टी फुटाउन तत्पर छु भन्ने सन्देश दिनुभएछ । भोलि ९ बजे पनि बैठक बस्ने कुराकानी भएको रहेछ । तर, उहाँले सहमतिको प्रस्तावै ल्याउनुभएको छैन । बैठकको उपादेयता मैले खासै देखेको छैन,’ सचिवालय सदस्यको भनाइ छ ।
अर्का सचिवालय सदस्य झलनाथ खनालले पनि बैठक सकारात्मक बन्न नसकेको बताए ।
‘प्रधानमन्त्रीले मिल्ने कुरा गर्नुभएनछ । आजको बैठक त्यत्तिकै सकियो । भोलि के हुन्छ, यसै भन्न सकिँदैन,’ उनको पनि भनाइ थियो ।
