काठमाडौं, २१ असार–सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्दै पार्टीलाई फुट्नबाट जोगाउन अन्तिम कोशिस गर्न भन्दै नेकपाका दुई अध्यक्षबीच निर्णायक वार्ता शुरु भएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीसँगै अन्तिम निर्णायक वार्ताका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका हुन् । आज आइतबार बिहान राष्ट्रपतिलाई भेट्न पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतलनिवासबाट सिधै बालुवाटार पुगेका हुन् ।
अध्यक्ष प्रचण्डसहितका तीन नेताहरु अहिले प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगिसकेको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिएका । ‘अहिले प्रधानमन्त्रीसँग छलफल शुरु भएको छ’, सापकोटाले भने ।
दुई अध्यक्षको तर्फबाट दुई–दुई जना सहयोगी नेताहरु समेत वार्तामा छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् । सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल र खनाल पक्षबीच तीव्र मतभेद देखिएको छ ।
