एजेन्सी, २२ असार–स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान र अन्सु फातीले एक एक गोल गरेका थिए भने एक गोल भिल्ला रियलका पाउ टोरेजले आत्मघाती गोल गरेका थिए।

त्यस्तै भिल्ला रियलका लागि एक गोल जेरार्ड मोरेनोले गरेका थिए। बार्सिलोनाका लागि दुई गोल लियोनेल मेसीले असिष्ट गरेका थिए। यो सँगै मेसीले यस सिजनमा कुल १९ असिष्ट गरेका छन्। मेसीले यस अघि २०१४–१५ सिजनमा आफुले नै बनाएको १८ गोल असिष्टको रेकर्ड तोडेका हुन्। यो स्पेनिस ला लिगामा एकै सिजनमा कुनै पनि खेलाडीले गरेको अहिलेसम्मकै धेरै गोल असिष्ट हो।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्यड्रिडसँग अंक दुरी घटाएर ४ अंकमा झारेको छ। ३४ खेलपछि बार्सिलोनाको ७३ अंक भएको छ भने शीर्ष स्थानमा रहेको रियल म्यड्रिडको ३४ खेलमा ७७ अंक रहेको छ। बार्सिलोनाले अब आगामी बुधबार राति इस्पेनेयोलविरुद्ध खेल्दै छ।

गएराति नै भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *