काठमाडौं, २६ असार–नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ। बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित।’ पार्टी शीर्ष तहमा उत्पन्न विवादले स्थगित हुँदै आएको बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको थियो।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि शीर्ष तहमा विवाद बढेको छ। विवाद समाधानका लागि यो बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएको छ। दुबै नेता आ–आफ्नै अडानमा रहँदा सहमति जुटिसकेको छैन।

शीर्ष नेताहरुबीच विवाद बढिरहँदा कतिपय नेताहरुले केन्द्रीय कमिटी बैठक नै बोलाउनु पर्ने आवाज उठाइरहेका छन्। नेकपा स्थायी कमिटी बैठकमा कोरोना उपचार, रोकथाम र नियन्त्रण, नागरिकता विधेकय, पार्टी एकीकरणका बाँकी काम लगायतका एजेण्डा तय गरिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *