काठमाडौं, २८ असार–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले हडपेको जमीन समेटिएको नक्सालाई लिएर कसैले पनि महान राष्ट्रवादी हुनु जरूरी नरहेको बताएका छन्। चितवनमा आइतवार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गत कात्तिकमै भारतले नेपाली भूमि समेटेर नक्सा छापेको थियो। मैले त्यति बेलै हामीले पनि हाम्रो मिचिएको भूमिसहित नक्सा छापौँ भनेको थिएँ’, उनले भने, ‘यसलाई मैले मंसिरको स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको थिएँ। माघमा बसेको केन्द्रीय कमिटी बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभागको नक्सा प्रकाशित गर्नुपर्छ भनेको थिएँ।

केन्द्रीय समितिले पनि निर्देशन दिएको थियो।’  उनले भारतले मिचेको भूमिसहितको नक्सा छापेको कुरामा कसैले एक्लै जस लिन खोज्‍नु गलत हुने बताए। ‘हामीले छातीमा हात राखेर भनौं सत्य के हो भनेर। यहाँ कोही महान राष्ट्रवादी नभए हुन्छ। हामीले मिलेरै नाकाबन्दी सामना गरेको हो। मिलेरै नक्सा छापेको हो। पार्टीले निर्णय गरेर मात्रै पुग्दैन थियो त्यसैले नक्सा छाप्न सरकारलाई निर्देशन दिएका हौं।’

पछिल्लो समय सडकमा लागिरहेका नारामा पनि उनले असन्तुष्टि जनाए। नक्सा छापेपछि अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न खोजिएको भन्दै सडकमा लागिरहेको नाराबारे पनि उनले असन्तुष्टि जनाए। ‘राष्ट्रवादमा मुर्दावाद र जिन्दावाद भन्‍ने हुँदैन। यस्ता खालका गतिविधि विलकुल ठीक छैनन्’, उनले भने,’पार्टीको सामूहिक निर्णयलाई कसैले जस लिएर महान राष्ट्रवादी बन्‍न नखोजे हुन्छ।

दाहालले पार्टीलाई विभाजित हुने अवस्थामा नलाने पनि बताए। ‘बाढी पहिरोको प्रकोपका कारण स्थायी कमिटीको बैठक एक हप्ताका लागि सारेका छौं। स्थायी कमिटी बैठक नसकिई मैले पार्टीबारे धेरै भन्‍नु उचित हुँदैनु, उनले भने, ‘अहिले धेरै कुरा राख्‍न सक्दिनँ। हामी गठबन्धन गरेर साझा घोषणा पत्रका साथ चुनावमा गयौँ। एकताको संकल्पले जनता उत्साहित भएका थिए। त्यसैले पार्टीको एकतालाई बचाउने गरी हामी अघि बढिरहेका छौं।’ उनले गत मंसिर ४ गते पार्टीको तर्फबाट कार्यकारी अध्यक्ष र सञ्‍चालकको जिम्मेवारी पाए पनि राम्ररी काम गर्न नपाएको बताए।

‘मैले कार्यकारी अध्यक्षको जिम्मेवारी त पाएँ तर त्यो निर्णय राम्ररी लागु भएन’, उने भने, ‘अहिले पार्टीबारे एउटा चिन्ता देखा परेको छ। पार्टी एकतालाई बचाइराख्ने गरी म अघि बढेको छु।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *