काठमाडौं, २९ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनको बर्नमाउथसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर बर्नमाउथसँग ४–१ गोलले पराजित भएको हो।

भिटालिटी स्टेडियममा सम्पन्न खेलमा बर्नमाउथको जितमा डोमिनिक सोलान्केले दुई तथा जुनियर स्टानिलासले एक गरे। एक गोल भने लेस्टरले उपहारमा दियो। खेलको २३ औँ मिनेटमा जेमी भर्डीको गोलबाट लेस्टरले खेलमा शुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा लेस्टर १–० गोलले अगाडि रह्यो। तर ६६औँ मिनेटमा जुनियर स्टानिलासले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसको एक मिनेटपछि नै डोमिनिकले गोल गर्दै बर्नमाउथलाई खेलमा २–१ को अग्रता दिलाए।

६७ औँ मिनेटमा काग्लर सोयोन्कु रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटियो। ८३औं मिनेटमा जोनी इभान्सले आत्मघाती गोल गर्दा बर्नमाउथले ३–१ को अग्रता बनायो। ८७औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोलीलाई ४–१ को जित सुनिश्चित गराए। जितसँगै बर्नमाउथले ३५ खेलबाट ३१ अंक जोडेको छ।

चौथो स्थानको लेस्टर सिटीको ३५ खेलबाट ५९ अंक छ। त्यस्तै गएराति नै भएका अन्य खेलमा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–० गोल अन्तरले हरायो। यस्तै आर्सनल टोटनह्यामसँग २–१ ले पराजित हुन पुग्यो। गएराति नै भएको अर्को खेलमा उल्भ्ससँग इर्भटन ३–०को हार्यो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *