फ्रान्स, २९ असार–पेरिसका सडक सधैं गाडीले भरिभराउ हुन्थे। कोरोना महामारी फैलिएपछि भने यो दृश्य फेरिएको छ।
अचेल बिहान ९ नबज्दै सडकमा साइकलको लश्कर हुन्छ। पहिले यिनै सडकमा गाडीको ताँती हुन्थ्यो। कसैले नयाँ साइकल आफैं किनेका छन्, कसैले घरमा थन्क्याएको साइकल निकालेका छन् त कोही ‘बाइक सेयरिङ’ मार्फत् चलाइरहेका छन्।
पेरिस सहरलाई सन् २०२४ सम्म साइकलमैत्री बनाउने वाचा मेयर एन हिडाल्गोले गरेकी थिइन्। कोरोना लकडाउन त्यो वाचा पूरा गर्ने अवसर बनेर आयो।
हालै पेरिसमा ६५० किलोमिटर लामो साइकल लेन बन्यो, स्ट्यान्डहरू निर्माण भए। साइकल किन्न चाहने पेरिसबासीले ५ सय युरो र पुरानो साइकल मर्मत गर्न चाहनेले ५० युरो खर्च पाउन थाले। योसँगै पेरिसमा कारभन्दा साइकल बढी देखिन थालेका फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन्।
‘साइकलको माग अहिले अत्यधिक छ,’ पेरिसस्थित साइकल एसोसिएसनका प्रवक्ताले ‘फ्रान्स २४ु लाई भनेका छन्, ‘हामी बाइसाइकलाइ-जेसनतिर जाँदैछौं।’
राष्ट्रिय साइकल समूहका अनुसार गत वर्षको तुलनामा अहिले साइकल चलाउनेको संख्या २८ प्रतिशत बढेको छ। अहिले दैनिक चार हजार साइकल बिकिरहेको फ्रान्स-२४ ले जनाएको छ।
मान्छेहरू सार्वजनिक यातायात चढ्न नचाहने भएकाले साइकलमा आकर्षण बढेको स्थानीय साइकल व्यापारी बताउँछन्।
‘पेरिस अहिले नै पूर्ण साइकल सहर भइसकेको छैन। तर मलाई लाग्छ, यही गति हो भने धेरै समय लाग्दैन,’ स्थानीय साइकल व्यापारीको भनाइ उद्धृत गर्दै फ्रान्स-२४ ले लेखेको छ।
पेरिसका सडकमा साइकलको बाहुल्यता बढ्दै गएका बारे सामाजिक सञ्जाल भिडिओहरू पनि सार्वजनिक भएका छन्। जेम्स स्टाफोर्ड नामका व्यक्तिले यस्तै एउटा भिडिओ पोस्ट गरेका जसमा सन् २०१२ को पेरिस सडकको भिडिओ जोडेर अर्बान थट्सले ट्विट गरेको छ।
