काठमाडौं, २९ असार–सांसदहरूले नेपालमा बाढी आउनुको मुख्य कारण भारतले बनाएका ब्यारेजहरू भएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भारतले बनाएको अव्यवस्थित बाँधका कारण नेपालमा बाढीले क्षति पुर्याउने गरेको बताएका हुन् ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपालमा बाढीले क्षति गर्नुको कारण भारत भएको बताइन् । उनले भारतले बनाएको अव्यवस्थित बाँध बाढीको कारण भएको बताइन् । दसगजाको नजिकै भारतले बनाएका बाँधका कारण समस्या भए पनि समाधानका लागि कूटनीतिक पहल नभएको उनले बताइन् ।
चुरे दोहन र क्रसर उद्योग पनि बाढीका कारण भएको उनको भनाइ थियो । बाढी आउँदा बिउँझने र अरू बेला चुप लाग्ने गर्दा पनि समस्या बर्सेनि दोहोरिने गरेको उनले बताइन् ।
त्यस्तै नेकपाकी सांसद पम्फा भुषालले पनि भारतले बनाएको बाँध नेपालमा बाढी आउनुको कारण भएको बताइन् । उनले भारततर्फ लक्षित गर्दै भनिन्, ‘‘मित्र भन्ने कि दुष्ट रु’ उनले बसाई छरिएकाले राहत र उद्धारमा समस्या भएको भन्दै एकीकृत बस्ती बसाउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै नेकपाकै सांसद महेश्वरजंग गहतराजले भारतले गरेको निर्माण नेपाललाई दुस्ख र सास्ती दिन निर्माण गरिएजस्तो रहेको बताए । सीमा सुरक्षा सडकको नाममा भारतले बनाएका संरचनामा पनि उनले प्रश्न गरे ।
भारतले बनाएका ब्यारेज पानीको बहाव बढेपछि बन्द गर्ने क्रम सुरू हुने गरेको भन्दै भारतले बनाएका संरचना नेपाललाई दुस्ख दिन बनाएको जस्तो रहेको बताए ।
नेकपाकै सांसद रेखा शर्माले पनि भारतले बनाएका संरचनामाथि प्रश्न उठाइन् । ‘१० गजा बाहिर संरचना बनाउन पाइन्छ कि पाइँदैन रु’ सांसद शर्माले भनिन् । सांसद यसोदा गुरूङले भारतसँगका पुराना सन्धि सम्झौताका कारण तराई डुबानमा परेको बताइन् ।
