झिलझिले, २९ असार–झापाको शिबसताक्षी–११ दुधे चौकमा पर्ने पूर्वपश्चिम राजमार्गको दूधे बजारदेखि २ सय मीटर पश्चिम दक्षिणको सडकमा स्थानीयवासीहरुले धान रोपाई गरेका छन् ।

मुख्य लोकमार्ग २ सय मीटर दक्षिणमा रहेको सतासीधाम सामुदायिक अध्ययन केन्द्रको भवनहुँदैं दक्षिण जाने सडकमा स्थानीयले धान रोपाई गरेका हुन् ।

नगरपालिकाले नगरभरिका अधिकांश सडकहरु स्तरोन्नति भई जुनसुकै समयमा पनि सवारी साधन चल्न सक्ने भनिरहँदा मानिससम्म हिंड्न नसक्ने भएपछि विरोध स्वरुप धान रोपिएको स्थानीयहरुले बताएका छन् ।

सो सडक भएर दैनिक निर्माण सामग्रीका ट्रयाक्टर तथा टिपरहरु कुद्न थालेपछि स्थानीयले वडाध्यक्ष भैरवकुमार श्रेष्ठलाई जानकारी दिएको बताएका छन् । तर, वडाध्यक्षले जसले गाडी कुदाई बाटो बिगार्यो उसैलाई गएर भन्नु भन्दै तर्किएको र सवारी धनीलाई सो विषयमा जानकारी गराउँदा सडक बनाउने काम हाम्रो होइन भन्दै पन्छिएको स्थानीय बबिता लिम्बुले बताइन् । उनले भनिन् -‘एकले अर्कालाई देखाउँछन्, अनि बाटोमा धान रोपेको हो ।’

त्यस्तै, स्थानीय देवी बस्नेतले बिरामी भएर अस्पताल लैजान झोलुङ्गोमै बिरामीलाई हालेर मुख्य सडकसम्म पुर्याउनु पर्ने अवस्था भएपछि वाध्य भएर धान रोप्नु परेको बताइन् ।

यता, लगातार पानी परिरहेको अवस्थामा पनि सडकमा घण्टैपिच्छे ९ वटासम्म गाडी कुद्न थालेपछि बाटोमा हिंड्न नसक्ने अवस्था आएपछि छिमेकीहरुको स्वतस्फूर्तमा सल्लाह गरी हिलो बाटोको दुवैतर्फ ढाट लगाई रोपाई गर्नुपरेको उर्मिला आचार्यको भनाई छ । उनी भन्छिन् -“अति नै भयो, हिलोका कारण वल्लोदेखि पल्लोघरसम्म हिंड्न नसक्ने अवस्था आएपछि स्वतस्फूर्तमा रुपमा बाटोमा निस्केर धान रोपेका हौं ।’

सो सडक निर्माण गर्न भनि वडा कार्यालयले केही वजेट छुट्टयाए पनि अन्यत्रै लगि गिटी बालुवा झारिएको स्थानीयको भनाइ छ । धान रोपिएको सडकखण्ड दूधे बजार विकास समितिको क्षेत्राधिकारभित्र पनि पर्दछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *