काठमाडौं, ५ साउन–आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउन संस्कृति पर्यटन मन्त्रालयले सिफारिस गरेको छ। आन्तरिक उडान साउन २१ र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाउन सिफारिस गरेको हो। मन्त्रालयको सहसचिव सुरेश आचार्यले टेलिफोनमा संक्षिप्त कुरा गर्दै भने,’मन्त्रिपरिषदको बैठकमा उक्त मितिदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउन सिफारिस गरिएको हो। यस विषयमा मन्त्रिपरिषदले निर्णय गर्नेछ।’ दुवैतर्फका उडानमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर उडान गरिने सहसचिव आचार्यले बताए।
नागरिक उड्डयन प्राधिकरणले यसको लागि सबै सुरक्षा मापदण्ड बनाइसकेको उनको भनाइ छ। विमानस्थल खुलाउनुअघि सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले ल्याइसकेको छ। विमानस्थल सञ्चालनका लागि प्राधिकरणले विमान यात्रु, विमान कम्पनी, कर्मचारी, विमानस्थलका लागि सुरक्षाको मापदण्ड अपनाउन निर्देशिका जारी गरिसकेको छ। निर्देशिकाअनुसार कोभिड १९ संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायत व्यवस्था गरिएको छ।
प्राधिकरणको निर्देशिकाअनुसार ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएका, स्वाद तथा गन्ध थाहा नपाउने व्यक्तिले विमानमा यात्रा गर्न पाउने छैनन्। ३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फारेन हाइट वा सोभन्दा माथि तापक्रम भएका व्यक्तिले पनि विमानमा यात्रा गर्न पाउने छैनन्। यस्तै, विमानस्थलमा प्रवेश गरेदेखि गन्तव्यमा नपुगेसम्म मेडिकल मास्कको प्रयोग गरिरहनुपर्नेछ। मेडिकल मास्क प्रयोग नगर्नेलाई विमानस्थल प्रवेश गर्न नदिन प्राधिकरणले निर्देशन गरेको छ।
विमान सेवा दिँदा विमानभित्र पनि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले विमान कम्पनीहरुले शतप्रतिशत क्षमतामा यात्रु उडाउन पाउने छैनन्। ती अधिकारीका अनुसार विमान कम्पनीले ५०र६० प्रतिशत क्षमतामा मात्रै हवाई सेवा दिनुपर्नेछ। सरकारले गत चैत ११ देखि लकडाउन लागू गरेदेखि चार्टर्ड उडानबाहेक हवाई सेवा बन्द छ।
