काठमाडौं, ६ साउन–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने जनताको संख्या बढेको बताएका छन्। विपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं विपी स्मृति दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै डाक्टर कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले जनतामा राजतन्त्रप्रति मोह बढेको बताएका हुन्। त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको नेता जस्तो भएकोले जनतामा निराशा छाएको बताएका छन्।
‘राष्ट्रपति जनताको हुनुपर्यो नेकपामा भएर अहिले बिग्रेको छ’ उनले भने, ‘राष्ट्रपतिको गतिविधिले गर्दा आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको छ।’ त्यस्तै उनले कांग्रेसको १४ औँ महाधिवेशनमा देउवा इतरबाट एक जनामात्रै सभापतिको उम्मेदवार हुने पनि बताए। उनले पौडेल समूहबाट सभापतिको उम्मेदवारको हुने भन्ने विषयमा छलफल भइरहेको बताए। उनले देउवा इतर समूह एक हुनुपर्ने बेला आएको पनि बताए।
महाधिवेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोप लगाए । ‘पार्टीको काममा सभापति ज्यूलाई मैले सधैँ सहयोग गरिरहेको छु। तर, उहाँ एकलौटी निर्णय गर्न छोड्नु हुन्न’ उनले भने।
