बिर्तामोड, ७ साउन–आज साउन ७ गते अर्थात् नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता हुन् ।

बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आज देशभर विभिन्न कार्यक्रम गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ । पुष्पलालको ४२औं स्मृति दिवसको अवसरमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज श्रद्धाञ्जली वक्तब्य जारी गर्दै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनमा पुष्पलालको योगदान रहेको बताएका छन् ।

पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नु भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा पुष्पलालको विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण सुरुवात गरेको रुपबाट बुझ्नुपर्ने उल्लेख गरेका छन् । बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होउन् पार्टी अध्यक्ष ओलीको जिकिर छ यो नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो ।

यसैबीच, पुष्पलाल मित्रता केन्द्र झापाले पनि आज बिर्तामोडमा विचार गोष्ठीमार्फत् उनको योगदानको स्मरण गरेको छ ।

केन्द्रका संयोजक मणि भण्डारीको अध्यक्षता तथा नेकपा प्रदेश कमिटी सदस्य पुष्प पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले सञ्चालन गरेको कार्यक्रममा सबैजसो वक्ताहरुले नेकपाको केन्द्रमा देखिएको पदीय लोलुपता र अस्थिरता विरुद्ध खुलेर आलोचना गरेका थिए ।

टुक्राटुक्रामा विभक्त कम्युनिष्ट पार्टीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रयासलाई सार्थकता दिनुपर्नेमा केन्द्रीय नेतृत्वले आम कार्यकर्ताको भावना विपरित हर्कत गरिरहेको टिप्पणी गरेका छन् । बल्ल बल्ल एकीकृत हुँदै गरेको पार्टीलाई थप मजबुत बनाउनु र पार्टी जोगाउनुको विकल्प छैन भन्दै वक्ताहरुले गैर राजनीतिक हर्कतका विरुद्ध तमाम पार्टी कार्यकर्ताहरु नेतृत्वका विरुद्ध निर्मम बन्नुपर्ने अवस्था आएको धारणा राखेका थिए ।

पुष्पलाल मित्रता केन्द्रका झापासहित ३५ जिल्लामा शाखा विस्तार गरिएको छ भने पाँचवटा प्रदेश कमिटी बनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *