बिर्तामोड, ७ साउन–अविरल वर्षाका कारण झापाको बुद्धशान्ति–७ स्थित मोतिडाँडामा मंगलबार राति पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।
बुद्धशान्ति-७ मोतिडाँडामा पहिरोले स्थानीय तेजकुमार बराईलीको घर बगाउँदा मेचीनगर-९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
पहिरोमा परी सोही घरकी ७७ वर्षीया तिलमाया, २१ वर्षीया कल्पना र १९ वर्षीया पुष्टिना बराइलीसमेत घाइते भएका छन् । मृतक दर्नाल तेजबहादुर कहाँ पाहुना आएका थिए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले स्थानीयबासी र जेसीवीको सहायतामा पहिरोमा पुरिएको अवस्थामा राति करिब १ बजे दर्नालको शव निकाएको थियो । शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रनाउ थापाले बताउनुभयो ।
पहिरोले बराइलीको घर पूर्ण रुपमा क्षति भएको छ भने नजिकै रहेको अन्य दुई घर जोखिममा परेकाले उनीहरुको उद्धार गरी स्थानीय होसना चर्चमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
