काठमाडौं, ९ साउन–गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरूले ३४ अर्ब ४८ करोड प्रथम बिमाशुल्क आर्जन गरेका छन् । २० वटा जीवन बिमा कम्पनीले आर्थिक वर्षमा प्रथम, नवीकरण र वैदेशिक रोजगारी गरेर कुल ९४ अर्ब ३८ करोड बिमाशुल्क आर्जन गरेको बिमा समितिले जनाएको छ ।

गत वर्ष संकलन भएको ३४ अर्ब ४८ करोड प्रथम बिमाशुल्कमध्ये १० अर्ब १६ करोड नेपाल लाइफले मात्रै संकलन गरेको छ । जुन गत वर्ष जीवन बिमा कम्पनीले आर्जन गरेको कुल प्रथम बिमाशुल्कको २९.४७ प्रतिशत हो । यस्तै, कम्पनीले १८ करोड ४ लाख नवीकरण बिमाशुल्क आर्जन गर्दा कुल २८ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । जुन, जीवन बिमा कम्पनीको कुल बिमाशुल्कको ३० प्रतिशतभन्दा बढी हो ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चार अर्ब १४ करोड प्रथम बिमाशुल्क आर्जन गर्दा ११ अर्ब १५ करोड र नवीकरण बिमाशुल्क आर्जन गर्दा कुल १५ अर्ब ३१ करोड आर्जन गरेको छ ।

पुराना जीवन बिमा कम्पनीलाई व्यवसाय विस्तारमा नयाँ जीवन बिमा कम्पनीका रूपमा २०७४ बाट सञ्चालनमा आएको युनियन लाइफको चुनौती देखिएको छ । युनियन लाइफ प्रथम बिमा शुल्क आर्जनमा नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल पछि तेस्रो स्थानमा छ । कम्पनीले गत आर्थिक वर्षमा दुई अर्ब ८६ करोड प्रथम बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै, एक अर्ब ७९ करोड नवीकरण बिमाशुल्क र १५ करोड वैदेशिक रोजगार बिमाशुल्क आर्जन गर्दा कुल चार अर्ब ८९ करोड आर्जन गरेको छ ।

यस्तै, गत आर्थिक वर्षमा राष्ट्रिय बिमा संस्थानले ९२ करोड प्रथम बिमाशुल्क र ६ अर्ब १३ करोड नवीकरण बिमाशुल्क गरेर सात अर्ब पाँच करोड बिमाशुल्क आर्जन गरेको छ । निजी लगानीको पहिलो जीवन बिमा कम्पनी नेसनल लाइफले दुई अर्ब ३५ करोड प्रथम बिमाशुल्क र ६ अर्ब ५६ करोड नवीकरण बिमाशुल्क तथा ३० करोड वैदेशिक रोजगार बिमाशुल्क गरेर नौ अर्ब २१ करोड आर्जन गरेको छ ।

मेट लाइफ इन्स्योरेन्सले एक अर्ब ३० करोड प्रथम बिमाशुल्क र दुई अर्ब ८५ करोड नवीकरण बिमाशुल्क गरेर चार अर्ब १५ करोड बिमाशुल्क आर्जन गरेको छ । एसियन लाइफ इन्स्योरेन्सले एक अर्ब ६० करोड प्रथम बिमाशुल्क आर्जन गर्दा चार अर्ब ५४ करोड कुल बिमाशुल्क आर्जन गरेको छ ।

प्रथम बिमाशुल्क आर्जनमा गुराँस लाइफ इन्स्योरेन्सभन्दा नयाँ आएका सन नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबाहेक सबै कम्पनी अगाडि लागेका छन् । यता नयाँ आएका १० वटा जीवन बिमा कम्पनी अरूभन्दा एक वर्ष पछिबाट सञ्चालनमा आए पनि महालक्ष्मी लाइफले प्रथम बिमाशुल्क आर्जनमा पुरानो गुराँस लाइफसहित आईएमई लाइफ, सन नेपाल लाइफ र सानिमा लाइफलाई पछि छाडेको छ ।

-१२ खरीबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *