काठमाडौँ, १० साउन–प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र व्यवहारलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र रस्साकस्सी चलिरहेका बेला असार १५ गते एकाएक निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन पर्‍यो। सच्चिनुको साटो उल्टै पार्टी नै फुटाउने खेलमा लागेको र सो निवेदन पनि ओलीकी निर्देशनमा दिइएको भन्दै व्यापक आलोचना भइरहेको छ।

पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको बेलामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढ्नाले नेकपाभित्र खैलाबैला मच्चिएको थियो। स्थायी कमिटीको बैठकमै उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको निर्देशनमा एमाले दर्ता प्रक्रिया अघि बढाएको प्रमाण पेश गर्न सक्ने दाबी गरेका थिए। स्थायी कमिटी बैठकमा नेकपा एमाले दर्ता प्रक्रियामा नेकपा नेताहरूको सहभागिता छरछैन भन्ने विषयमा गम्भीर छलफलको माग गरिरहेका छन्। तर, विवाद चर्कंदै जाँदा ओलीले अनिच्छा देखाएपछि स्थायी कमिटी बैठक समेत बस्न सकिरहेको छैन।

बैठक र छलफल जति टार्न खोजेपनि माओवादी केन्द्रसँग गाभिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको साविकको एमाले पार्टी पुनस् दर्ता गर्न खोजिएपछि त्यसमाथिको विवाद थप बढेको छ। पुष्पलालको ४२औं स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा पनि पूर्वप्रधानमन्त्री एवम्‌ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक रूपमै सो पार्टी दर्तामा ओलीको संलग्नता रहेको दाबी गरे। ‘पार्टी गम्भीर संकटको अवस्थामा छ, पार्टीको बैठक चल्दा चल्दै निर्वाचन आयोगमा अर्का अध्यक्षको सक्रियतामा नेकपा एमालेको नाममा पार्टी दर्ता प्रक्रिया अघि बढाइएको छ,’ दाहालले भनेका छन्‌, ‘पार्टीभित्रको विवाद चर्काएर नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएर, देशभरी केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोसिस भइरहेको छ।ु’

पार्टीभित्रको विवादमा कार्यकारी अध्यक्ष प्रचण्डसँगै उभिएका वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यक्ष ओलीका गतिविधिलाई लक्षित गर्दै कसैले चोइट्याउन खोजे एक्लिएर जाने, तर पार्टी नफुट्ने बताएका छन्‌। ‘पार्टी फुट्नेवाला छैन। कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला, तर पार्टी फुटेर जानेवाला छैन। फुट्नेवाला छैन,’ उनले भने, ’कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थरथर काँप्नुपर्ने आवश्यकता छैन।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *