काठमाडौं, ११ साउन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणपछि मात्रै मैदान फर्काइने बताएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उपत्यकाभित्र र बाहिर रहेका सबै खेलाडीको स्वास्थ्य परीक्षणपछि मात्रै प्रशिक्षणका लागि मैदान फर्काइने तयारी भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।
उनले खेलाडीलाई दुई साता क्वारेन्टिनमा राख्नेसमेत जानकारी दिए । क्वारेन्टिनमा रहेकै समयमा खेलाडीको स्वास्थ्य परीक्षण गरिनेछ । “हामी खेलाडीको क्वारेन्टिनका लागि छलफल गरिरहेका छौं । स्वास्थ्यकर्मीसँगको छलफलपछि उनीहरूको रिपोर्टअनुसार हामी खेलाडीलाई सेल्फ वा होटेलमा राख्ने भन्ने निर्णय गर्नेछौं,” एन्फा प्रवक्ता राईले बाह्रखरीसँग भने, “स्वास्थ्य परीक्षण भने अनिवार्य हुनेछ । क्वारेन्टिनमै बसेका बेला खेलाडीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेका छौं ।”
क्वारेन्टिन र स्वास्थ्य परीक्षणको सबै खर्च एन्फाले बेहोर्नेछ । क्वारेन्टिन साउन १७ देखि ३० गतेसम्म दुई साता बस्ने तयारी भइरहेको उनले जानकारी दिए । त्यसपछि मात्रै भदौ १ बाट एन्फाले औपचारिक प्रशिक्षण सुरु गर्नेछ । त्यसका लागि बन्द प्रशिक्षणमा परेका खेलाडीहरूलाई सम्पर्क गर्ने कार्य भइरहेको प्रवक्ता राईले जानकारी दिए ।
विश्वकप र एसियन कप छनोट खेलका लागि फागुनमा बन्द प्रशिक्षण सुरु भएको थियो । तर, महामारीले विशाल रूप लिएपछि सबै खेलकुद गतिविधि स्थगित भएका थिए । दोस्रो चरणको छनोटको अवे खेल खेलिसकेको नेपालले अब बाँकी तीन खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।
नेपालले बाँकी खेल आगामी अक्टोबरमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा नोभेम्बरमा जोर्डनसँग खेल्नेछ । छनोट खेल अक्टोबर ८ देखि सुरु हुने तय भएको छ । छनोटको समूह बिमा रहेको नेपालले सुरुवाती पाँच खेलमा एक जित र चार हारसहित ३ अंक जोडेको छ ।
