काठमाडौ, १३ साउन–राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका छन्। थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्। थापासँगै राप्रपाका ९० भन्दा धेरै नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। थापाले आफू कांग्रेसमा प्रवेश गर्दा महामन्त्री र केही केन्द्रीय सदस्य पाउनुपर्ने माग गरेका थिए।

महामन्त्री दिने विषयमा पार्टीभित्र चर्को आलोचना भएपछि देउवाले महामन्त्री दिन नसक्ने र सहमहामन्त्री दिन सक्ने बताएका थिए। अन्ततः थापाले देउवाको प्रस्ताव स्वीकार्दै सहमहामन्त्री पद लिएर कांग्रेस प्रवेश गरेका हुन्।

यद्यपि आजको पार्टी प्रवेश कार्यक्रममा पदीय जिम्मेवारी भने नदिइएको थापाका सहयोगकी अरुण शर्माले जानकारी दिए। थापा कांग्रेस प्रवेश गर्ने हल्ला गत वर्षको माघमै चलेको थियो। यो बीचमा सभापति देउवाले पार्टी उपसभापति विमलेन्द्र निधिलाई थापासँग छलफलको जिम्मा दिएका थिए।

राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थिए। थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका थिए। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *