काठमाडौं, १३ साउन–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधि, विधानलाई अटेर गरेको बताएका छन् । पार्टी अध्यक्ष ओलीले विधि लत्याएर एकतर्फी (अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) को सहमतिविपरीत स्थायी कमिटी बैठक रोकेको भन्दै बहुमत सदस्य बालुवाटार भेला भएका थिए ।
बैठकले ओलीले विधान विपरीत एकतर्फीरूपमा स्थायी कमिटी बैठक रोकेको निष्कर्ष निकाल्दै सच्याउन निर्देशन दिएको खनालको भनाइ छ ।
‘हामी ३०–३१ जना उपस्थित थियौं,” खनालले बैठकको जानकारी गराउँदै भने, ‘ तै पनि हामीले प्रधानमन्त्रीलाई पर्खियौं । नआएपछि म र प्रचण्ड गएर प्रधानमन्त्रीलाई आग्रह पनि गर्यौं ।’
बैठक सुचारु गर्न र आफ्नो कुरा बैठकमै राख्न अनुरोध गर्दा पनि ओलीले अटेर गरेको खनालको भनाइ छ । ‘तपाईंले जुन ढङ्गले बैठक स्थगित गर्नुभयो, त्यो अवैधानिक छ । पार्टीको पद्धिति विपरीत छ, यसलाई रद्द गर्नुहोस् र आजै तीन बजे बैठक बोलाउनुहोस् भनेर भनेर हामीले सुझाव दियौं,’ खनालले भने, ‘उहाँले मान्न तयार हुनुभएन । तपाईंले मान्नुहुन्न भने हामी बैठक सुचारु गर्छौं भनेर फर्किएका हौं ।’
जवाफमा ओलीले बैठक कुनै हालतमा राख्नुहुँदैन भनेको खनालको भनाइ छ । आजको भेलाले दुईजना अध्यक्ष एउटा सहमतिमा पुगेर छिटो स्थायी कमिटी बैठक सुचारु गर्न निर्देशन दिएको खनालको भनाइ ।
‘दुईजना अध्यक्षलाई सल्लाह गरेर बैठक राख्न भनेका छौैं । अध्यक्ष ओली फेरि पनि सहमतिमा नआए प्रचण्डलाई बैठक बोलाउने अधिकार छ । उहाँ अधिकारसम्पन्न नै हुनुहुन्छ,’ खनालले भने ।
खनालले पार्टी एकताको रक्षाका लागि आज ओलीलाई पर्खिएको पनि बताए । आज भेला भएका बहुमत सदस्य पार्टी विभाजनको विपक्षमा रहेको बताउँदै एकताकै लागि संशयमता, धीरता अपनाएको खनालको भनाइ छ ।
