काठमाण्डौं, १३ साउन–अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बर २० (असोज ४) मा गर्ने प्रस्ताव गरेको छ।

आइसिसीले कोरोनाभाइरसका कारण स्थगित सिरिजहरु सुचारु गर्ने योजना अनुसार नेपालसहितका देशलाई नयाँ मिति प्रस्ताव गरेको हो। ‘आइसिसीले क्रिकेट सुचारु गर्नका लागि मिति प्रस्ताव गरेर हामीसँग सल्लाह मागेको छ,’  क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘हामीले अन्तर्राष्ट्रिय हावाइ उडान नभएको, खेल प्रशिक्षण अझै सुरु नभएको अवस्थामा कठिन हुन सक्ने जवाफ पठाएका छौं।’

सिरिजका लागि विदेश भ्रमण गर्दा क्वारेन्टिनमा बस्नु पर्ने तथा स्वदेशमै अभ्यास थाल्न खेलाडीको पिसिआर परीक्षणका गर्नु पर्ने भएकाले असोज ४ मै नामिबिया भ्रमणको सम्भावना कम भएको चन्दको भनाइ छ।

सरकारले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भदौ १ मा अभ्यास गर्न अनुमति दिएको छ। तर क्यानले अभ्यासका लागि अहिलेसम्म ठोस योजना बनाएको छैन। केही खेलाडीले आफै अभ्यास गरिरहेका छन्। तर समूहमा अभ्यास कहिले सुरु हुन्छ एकीन छैन।

यसअघि अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तय नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्थगित भएको थियो। लिग-२ मा ७ देशबीच प्रतिस्पर्धा भइरहेको छ। लिगमा नेपालले अहिलेसम्म ४ खेल खेलेको छ।

चारमध्ये २ खेलमा जित हात पारेको नेपाल छैटौं स्थानमा छ। शीर्ष स्थानको ओमानले १० खेलबाट १६ अंक, दोस्रो स्थानको अमेरिकाले १२ खेलबाट १२ अंक, तेस्रो स्थानको स्कटल्यान्डले ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाले ७ खेलबाट ८ अंक र पाँचौ स्थानको युएईले ७ खेलबाट ७ अंक जोडेका छन्।

पुछारको पपुवा न्युगिनीले ८ खेल खेल्दा अंक जोड्न सकेको छैन। लिगमा एक टिमले २ वर्षको अवधिमा ३६ एकदिवसीय खेल खेल्ने तय भए पनि क‍ोरोनाका कारण लिग लम्बिने भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *