एजेन्सी, १४ साउन–स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई इन्टर मिलानले अनुबन्ध गर्न चाहेको चर्चा बेला–बेला सुनिने गर्छ । मेस्सी सन् २००४ देखि बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी हुन् । इन्टरसँग जोडियर हरेक सिजन मेस्सीको चर्चा हुन्छ ।
बार्सिलोनाका लागि उनले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रेलगायत धेरै उपाधि जिताइसकेका छन् । उनले बार्सिलोनालाई स्पेनमा स्थापित टोलीका रूपमा चिनाउन पनि महत्त्वपूर्ण योगदान गरेका थिए ।
पछिल्लो समय बार्सिलोनाका स्टार खेलाडीलाई इटालियन क्लब इन्टर मिलानले अनुबन्ध गर्न लागेको चर्चा छ । तर, इन्टरका सीईओ मोरोटाले मेस्सी क्लबमा आउन चाहे पनि क्लबको आर्थिक अवस्थाले धान्न नसक्ने बताएका छन् ।
“मेस्सी इन्टरमा आउने कुरा मेरा तर्फबाट कहिल्यै भएको छैन । मेस्सीलाई इन्टर पुरानो समयमा अनुबन्ध गर्न खोजेको कुराले अहिले पनि क्लबसँग जोडिएर आउने गर्छन् । मेस्सीलाई अनुबन्ध गर्दै पारिश्रमिक दिने कुरामा अहिले इन्टर धान्ने अवस्था छैन,” मोराटाले भने ।
