कैलाली, १४ साउन–बाढी गाउँ पस्दा कैलालीमा १०० भन्दा बढी घर डुबानमा परेका छन्। कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काडा नदी गाउँ परेपछि २५ घर डुबानमा परेका छन्। पीडितहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

यस्तै, पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै आठ घर डुबानमा परेका छन्। काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढी घरमा डुबानमा परेको प्रहरी नायब उपरिक्षक विष्टले बताए। कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन्। घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरिक्षक विष्टले जानकारी दिए।

घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयवासीले बताएका छन्। भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय सरकारले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन्। भजनीले जोखिमबाट बच्न पूर्वतयारीस्वरुप उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ। उक्त क्षेत्रमा बर्सेनि बाढी र कटान हुन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। बुधबार दिउँसो र राति सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हाल कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधर लगायतका नदीमा आकस्मिक बाढी आउने खतरा भएको समेत विभागले जानकारी दिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *