काठमाडौं, १५ साउन–नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिएसँगै आन्तरिक विवाद देखा परेको छ।
पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकपछि अर्को मनोनयन गरेपछि पौडेल पक्षका नेताहरू असन्तुष्ट छन्।
देउवाले क्रियाशील सदस्यतादेखि विभाग गठनसम्म हस्तक्षेप गरेको भन्दै पौडेल पक्षका नेता बुधबार पार्टी कार्यालयमा भेला भएका थिए।
उक्त भेलाले महाधिवेशन घोषणा भइसकेको अवस्थामा विभागहरू गठन निर्वाचन आचारसंहिताविपरीत भएको निष्कर्ष निकालेर पौडेलको नेतृत्वमा देउवासँग छलफल गर्ने निर्णय गरेको थियो।
पौडेल पक्षका विरोधबीच देउवाले मनोनयन जारी राखेका छन्। बुधबार चार सय ७९ सदस्यीय जेष्ठ राजनीतिज्ञ सभा गठन भएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको जेष्ठ राजनीतिज्ञ सभा गठन गरिएको हो।
उक्त सभामा पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट र पूर्वसभामुख दमननाथ ढुंगाना पनि जेष्ठ राजनीतिज्ञ सभामा अटेका छन्।
जेष्ठ राजनीतिज्ञ सभा गठनप्रति कांग्रेसका नेताहरूले विरोध गरेका छन्। केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति देउवाको गृहजिल्लाका धेरै मानिस जेष्ठ राजनीतिज्ञ सभामा राखिएकोमा असन्तुष्टि जनाएका छन्।
‘पार्टी सभापतिको अध्यक्षतामा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएछ। डडेलधुराका करिब दुई दर्जन सदस्य हुँदा मोरङ्गका तीनजना पर्नु भएछ। मोरङ्गका सबै अझै जवान भएर हो की ममा पार्टीको इतिहासको अनुपातको ज्ञान हराएको हो, अन्यमनस्क छु,’ रिजालले भनेका छन्।
उनले व्यंग गर्दै थपेका छन्, ‘पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो अध्यक्षतामा रहने जेष्ठ राजनीतिज्ञ सभामा डडेलधुराका जेष्ठ राजनीतिज्ञ शेरबहादुर देउवालाई मनोनीत गरेर आसन्न महाधिवेशनका लागि तनहुँका जेष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेलप्रति हो की युवाहरूकाप्रति सदाशयता देखाउनु भएको हो घोत्लिदै छु।’
