काठमाडौं, १६ साउन–पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र बढ्न थालेपछि सरकारले देशभर सभा सम्मेलन नगर्न आह्वान गरेको छ। बिहीबार सिरहामा जनता समाजवादी पार्टी प्रवेश कार्यक्रममा ३ सयभन्दा बढी मानिस सामाजिक दूरी कायम नगरी उक्त कार्यक्रम गरिएको थियो। उक्त घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतमले दुख व्यक्त गरेका थिए।
जसपाका अध्यक्ष उपेन्द्र यादव तथा वरिष्ठ नेता बाबुराम भट्टराईले उक्त कार्यक्रममा पार्टी प्रवेशका नाममा मानिसहरुको भीड बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। त्यस्तै काठमाडौंमा ‘इनफ इज इनफ’ ले गरेको सरकारविरोधी आन्दोलनमा सयौं मानिस सहभागी हुने गरेका छन्। काठमाडौं उपत्यका र बाहिरका जिल्लामा विभिन्न राजनीतिक दल र संघ संस्थाले सभा गरेको प्रति स्वास्थ्य मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ। सामाजिक दूरी कायम गर्नुपर्ने र मास्कको अनिवार्य प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्राडा गौतमले बताए। उनले भने, ‘कुनै पनि राजनीतिक दल वा संघ संस्थालाई सभा सम्मेलन नगर्न अनुरोध छ। उपत्यकामा संक्रमण संख्या बढिरहेको छ।’ सबैले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने गौतमले बताए।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन भने पनि कसैले पालना नगरेको भन्दै उनले गुनासोसमेत गरेका थिए। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदा मुलुकभर जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने उनले चेतावनी दिएका थिए। नेपालको सीमाबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएको उल्लेख गर्दै उनले ओखलढुंगाका नागरिक भारतबाट गाडीमा आएका २१ जना मध्ये १८ जनामा कोरोना देखिएको जानकारी दिए। यस्ता घटनाले दुःखद् घटना निम्त्याउने भएकोले बेलैमा सजग रहनलाई उनले सुझाव दिए। समूहमा कोरोना पोजेटिभ देखिएको प्रति उनले चासो प्रकट गरे।
स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना देखिनुले समूहमा कोरोना देखिएको गौतमले बताए। जनसम्पर्कमा रहने मानिसलाई बढी संक्रमण फैलिरहेको प्रति उनले चिन्तासमेत व्यक्त गरेका छन्। स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउँदा काठमाडौं र देशभरका बिरामीले अस्पतालमा उपचार गर्नलाई बेड नपाउने अवस्था आउनेप्रति उनले सचेत गराएका थिए। यस्ता कुराप्रति बेलैमा सजग रहन पनि उनले सुझाव दिए।
गौतमले भने, ‘मास्क प्रयोग नगर्ने २ लाख मानिसलाई कारबाही गरिएको छ। बाटोमा हिँड्ने मानिसलाई १६ हजार मास्क वितरण गरिएको छ। यो दुःखद् कुरा हो। सबैले मास्क लगाउनुपर्छ।’
