काठमाडौं, २४ जेठ–बीमा समितिले कोभिड–१९ बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ ।

गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रमसमेत भएकोले केही परिमार्जन गरी पुनः विक्री गर्न स्वीकृति दिइएको बताए ।

उनले बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारसमेत गरी संयुक्त रुपमा बीमालेखलाई अगाडी बढाउने सहमति भए अनुसार बीमालेखलाई निरन्तरता दिने निर्णय भएको बताए । अध्यक्ष चापागाईंले अब जारी गरिने कोरोना बीमालेख अनुसार २०७७ चैत मसान्तसम्मको मात्रै जोखिम बहन हुने बताए । यससँगै आजदेखि बीमालेख खरिद गर्नेको आगामी चैत मसान्त सम्मका लागि मात्रै बीमा हुने छ । यस अघि जारी भएका बीमालेखहरुमा भने खरिद गरेको मितिले १ वर्षको समय सम्मको जोखिम बहन हुने उनले बताए ।

बीमा शुल्क जम्मा भए अनुसार बीमा पुल मार्फत दायित्व भुक्तानी हुनेछ । त्यसपछि मात्रै नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले समेत बेहोर्ने गरी बीमालेख जारी गरिएको हो । नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले १ अर्ब रुपैयाँ सम्मको जोखिम बीमा संस्थाहरुबाट हुने बताए ।

त्यस्तै, पुनर्बीमा कम्पनीले १ अर्ब रुपैयाँ जोखिम बहन गर्नेछ । त्यसपछिको ५० करोड बराबरको जोखिम बीमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट बहन हुने छ भने बाँकी जोखिम बीमा समिति र नेपाल सरकारले बहन गर्ने सहमति भए अनुसार पुनः जारी गरिएको अध्यक्ष पाण्डेले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *