काठमाडौं, २१ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितको टोली आज चीन भ्रमणमा जाँदैछन्।

१४ सदस्यीय जम्बो टोलीका साथ अध्यक्ष नेपाल आज चीन जान लागेका हुन्। टोली साँझ ५ बजे चीन जान लागेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। टोलीमा कृषिमन्त्री बेदुराम भुषाल पनि सहभागी छन्।

नेपाल नेतृत्वको टोलीले युनान प्रान्तको खुमनिङ शहरबाट भ्रमण शुरु गर्नेछन्। नेपालको टोलीसँग बुधबार युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल कार्यक्रम राखिएको छ।​

युनान प्रान्तको आधुनिक कृषि प्रविधिका बारेमा टोलीलाई जानकारी दिने र युनान र नेपाल सरकारबीच कृषि प्रविधि आदानप्रदानका विषयमा छलफल हुने जनाइएको छ। ​

युनान प्रान्तमा हुने राजनीतिक भेटघाट सकिएपछि अध्यक्ष नेपालको टोली राजधानी बेइजिङ पुगेर चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका नेताहरुलाई भेट र छलफल गर्नेछन्।

टोली कार्तिक २८ गते स्वदेश फर्किने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। यसअघि, गत भाद्र ३ देखि दुई हप्ता चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा नेकपा एमालेका महासचिव शकर पोखरेल नेतृत्वको २१ सदस्यीय टोलीले पनि चीन भ्रमण गरेको थियो।

त्यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा गत मे १९ देखि १० दिने चीन भ्रमण गरेका थिए । सापकोटा नेतृत्वको टोलीमा माओवादी २० जना नेता सहभागी थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *