दमक, २१ कार्तिक–दमकमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले यहि मंसिर ५ गते दमकस्थित पशुपति मन्दिरको सभा हलमा १२औं वार्षिक साधारणसभा सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० मा भएको वार्षिक गतिविधिहरु र आगामी आर्थिक वर्ष २०८०/०८१ मा समावेश गरिने नीमित, कार्यक्रम र योजनासहितको प्रतिवेदन आज (मंगलबार) दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो ।
संस्थाले दमकमा पत्रकार सम्मेलनबीच वार्षिक साधारणसभामा पेश गरिने प्रतिवेदन सार्वजनिक समेत गरिएको छ । सो अवसरमा संस्थाका सञ्चालक समिति अध्यक्ष पदम लिम्बु लिङदेन (संकल्प) ले भोली (२२ कार्तिक) बुधबार झापाको विर्तामोड सेवा केन्द्रमा १२औं वार्षिक साधारणसभा हुने बताउनुभयो । यसपछि, कार्तिक २३ कार्तिक, विहिबार, शिबसताक्षी–८ झिलझिले, कार्तिक २४ गते शुक्रबार उर्लाबारी सेवा केन्द्रमा इकाईगत १२औं वार्षिक साधारणसभा पछि मंंसिर ५ गते दमकस्थित मुख्य कार्यालयमा सम्पन्न गरिने बताउनुभयो ।
प्रतिवेदनमा संस्थाले शेयर सदस्यहरुको आय अम्दानीमा बृद्धि, युवा स्वरोजगार, सहकारी संस्था मर्जर, सामाजिक सेवातर्फ योगदान र सेवा केन्द्र विस्तारका कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको समेत अध्यक्ष लिङदेनले जानकारी दिनुभएको छ । त्यस्तैं, नेपालसहित विश्वभरी कोरोना कोभिडपछिको आर्थिक तरलताका बीचमा पनि संस्थाले ५७ लाख बढी मुनाफा गर्न सफल भएको अध्यक्ष लिङदेनले पत्रकार सम्मेलनमा बताउनुभयो । वहाँले यस्तो परिस्तिीबीचमा संस्थाका सञ्चालक समिति, लेखा समितिलगायत सल्लाहकार समिति, विभिन्न उपसमितीहरु र कर्मचारीहरुको सामुहिक प्रयासलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
प्रतिवेदनमा सहकारी मूल्य मान्यता र सिद्धान्त भित्र रहेर लक्षित वर्गहरुको आर्थिक गतिबिधिमा सघाउँदै सरसफाई, हाम्रो शहर हरित नगर कार्यक्रम अनुरुप एक घर एक वृक्षारोपण, बालबालिकाको पोषणयुक्त खानपान, सामाजिक मेलमिलाप सम्बन्धीका सामाजिक कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।
त्यस्तैं, २० बर्ष पूरा गरेका सदस्यहरुको स्वास्थ्य जाँच (होलबडी) मा नगद ५ हजार सुविधा दिने, कर्जाको बीमा अनिवार्य गरिने, मृगौला, पत्थरी, महिलाको पाठेघरको अप्रेशन सम्बन्धि र पुरुषको प्रोस्टेटको अप्रेशनमा नगद ५ हजार दिने, स्वरोजगार कार्यक्रम मार्फत न्यून आय भएका सदस्यहरुलाई न्यून ब्याजदरमा ४२ महिने ऋण लगानी गर्ने लगायतका लोकप्रिय योजना तथा कार्यक्रमहरु प्रस्ताव गरिएको संस्थाका कार्यकारी प्रमुख दिलीप जवेगुले जानकारी दिए ।
फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थामा हाल शेयर सदस्य संख्या २ हजार २ सय ४५ जना छन् । संस्थाका अध्यक्ष लिङदेनका अनुसार दमकको पशुपति सेवा सदनमा साधारण सभाको समापन गर्ने कार्यक्रम छ । समापनका अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मानसहित विभिन्न पुरस्कारहरु समेत वितरण गरिने जनाइएको छ ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाकी कोषाध्यक्ष इक्सा सम्बाहाम्फेले स्वागत मन्तव्य राखेका थिइन् । सो कार्यक्रमलाई संस्थाक प्रमुख कार्यकारी अधिकृत दिलिप जबेगु लिम्बुले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख व्यवस्थापक कुवेर तुम्बापो, संस्थाकी उपाध्यक्ष फूलकुमारी आङदेम्बे, सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, सुवास आचार्य, मनकुमारी पन्दाक, लेखा संयोजक बीरबहादुर लाओती, सदस्य शक्ति कुमार साबा, झिलझिले सेवा केन्द्र प्रमुख किरण लिङदेन, झिलझिले सेवा केन्द्रका व्यवस्थापक सन्दिप लावोती लगायत सञ्चालक र कर्मचारी, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

