झापा, २८ कार्तिक–यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी सम्मान प्रकट गर्ने गरिन्छ।

आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराई बताउँछन्।

गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए।

बलि, हली एवं गोरु पूजा

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी ( भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बलि राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो।

वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा(मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको बाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ।

यसैगरी, वर्षभरि गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा(मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *