सुरुङ्गा, ८ मंसिर–लागूऔषध दुर्व्यसन विरुद्ध कार्यक्रम गर्न झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा जेसीजले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

लागुऔषध दुव्र्यसनीविरुद्ध विभिन्न कार्यक्रम गर्न कोष स्थापना गर्ने उद्देश्यले सुरुङ्गा जेसीजले यही मंसिर १० गतेदेखि १७ गतेसम्म साताव्यापी महायज्ञ गर्न लागेको हो । महायज्ञको ९५ प्रतिशत तयारी पूरा भइसकेको आज सुरुङ्गा जेसीज भवनमा आयोजित पत्रकार सम्मेलनमा पुराण मूल आयोजक समितिका अध्यक्ष एलपी उप्रेतीले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने र खर्च कटाएर ५० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिनाले बताउनुभयो । कोष स्थापना गरेर प्राप्त ब्याजबाट लागुऔषध न्यूनीकरणका लागि अभियान चलाइने उहाँको भनाइ छ ।

लागुऔषध दुव्र्यसनीको समस्या समाजमा विकराल बन्दै गएकाले सोको न्यूनीकरणका लागि सुरुङ्गा जेसीजले अभियानको थालनी गरेको जनाइएको छ । कोषबाट प्राप्त व्याजबाट उद्देश्य अनुरुप काम गर्ने सोच आयोजकको छ ।

कनकाई नगरपालिका सहित झापाका लागुऔषध दुव्र्यसनी प्रभावित क्षेत्रमा काम गर्ने आयोजकको लक्ष्य छ । महायज्ञ हुनु अगावै देशविदेशबाट सहयोगको प्रतिबद्धता समेत आइसकेको अध्यक्ष तिम्सिनाले बताउनुभयो ।

कोषका लागि विदेशमा रहेका नेपालीबाट ११ लाख ५० हजार रुपैयाँ सहयोग प्रतिबद्धता आइसकेको जनाइएको छ । सँगै झापाका १४ वटै जेसीज शाखा, एरिया ‘ए’, केन्द्रबाट समेत सहयोगको आउने भएको छ ।

सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष शिवकुमार कँडेलले सुरुङ्गा जेसीजले वार्षिक क्यालेण्डर बनाएर नै अभियान चलाउने बताउनुभयो ।

महायज्ञको कथा वाचन युवा पं। अर्जुन भट्टराई र पाठ पारायण पं। उमेश आचार्यबाट हुने आयोजकले जनाएको छ । महायज्ञका क्रममा लागुऔषधि सम्बन्धी क्षेत्रमा क्रियाशील अभियन्ताहरुबाट समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष उषा उप्रेती, त्रिलोचन उप्रेती, जविन तिम्सिना लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव दीपेन्द्र प्रधानले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *